काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ टेकअफपछि प्राविधिक समस्याका कारण भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरबस ए३३० विमानले बुधबार दिउँसो १:२६ बजे उडान भरेपछि दायाँ इन्जिनमा आगलागीको संकेत देखिएको जानकारी पाइलटले काठमाडौं एप्रोच कन्ट्रोललाई गराएका थिए । त्यसपछि विमानले केही समय धादिङ क्षेत्रको आकाशमा होल्ड गर्दै प्राविधिक अवस्था मूल्यांकन गरेको थियो ।
चालकदलको निर्णयअनुसार विमान कोलकातातर्फ डाइभर्ट गरिएको र नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा सुरक्षित रूपमा अवतरण गरिएको प्राधिकरणले जनाएको छ ।
विमानमा २२५ जना यात्रु र ११ जना चालकदल सदस्य गरी कुल २३६ जना सवार थिए । सबै यात्रु तथा चालकदल सुरक्षित रहेको जनाइएको छ ।
यस घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अन्य उडानहरू होल्डमा राखिएका थिए भने चीनबाट काठमाडौं आउँदै गरेको एक उडान पनि डाइभर्ट गरिएको थियो ।
घटनाबारे थप प्राविधिक अनुसन्धान भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।








