हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । क्यान्सरका कारण विश्वभर हरेक वर्ष लाखौँ मानिसको ज्यान जाने गरेको सन्दर्भमा यस दिवसले जागरण फैलाउने, उपचारको पहुँच बढाउने र क्यान्सरसँग जुधिरहेका व्यक्तिलाई हौसला प्रदान गर्ने उद्देश्य राख्दछ ।
हामीमध्ये धेरैले क्यान्सरका कारण आफन्त, साथी वा छिमेकी गुमाइसकेका छौँ । क्यान्सर केवल रोग मात्र नभई आर्थिक बोझ, शारीरिक पीडा र मानसिक सङ्घर्षको कारणसमेत बनेको छ । आजको दिन क्यान्सरसँग लडिरहेका व्यक्तिलाई हौसला दिने र यस रोगका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने अवसर पनि हो ।
क्यान्सर र उपचार विज्ञान
क्यान्सरको उपचारसँग सम्बन्धित स्वास्थ्य विज्ञानलाई अन्कोलोजी (Oncology) भनिन्छ । नेपालीमा क्यान्सरलाई अर्बुद रोग भनिन्छ । समयमै पहिचान र उपचार गर्न सकेमा धेरै प्रकारका क्यान्सर नियन्त्रण वा निको पार्न सकिने चिकित्सकहरू बताउँछन् ।
क्यान्सर उपचारमा प्रयोग हुने प्रमुख विधिमध्ये केमोथेरापी र रेडियोथेरापी पर्दछन् । केमोथेरापीका क्रममा बिरामीको कपाल झर्ने भएकाले विश्वभर कपाल दान गरेर क्यान्सर पीडितप्रति ऐक्यबद्धता जनाउने अभ्यास पनि बढ्दो छ ।
नेपालमा क्यान्सरको अवस्था
नेपालमा नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीका कारण क्यान्सर ढिलो पहिचान हुने समस्या देखिन्छ । बिरामी भएपछि मात्र अस्पताल जाने प्रवृत्तिले जोखिम बढाएको छ । जबकि सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा कम खर्चमै परीक्षण र उपचार सम्भव छ । स्वास्थ्यका लागि समयमै गरिएको सानो प्रयासले ठूलो जोखिम टार्न सकिन्छ ।
क्यान्सरका प्रमुख कारण
अध्ययनअनुसार क्यान्सरबाट हुने कुल मृत्युमध्ये करिब २२ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारण हुन्छ ।
अन्य कारणहरूमा:
-
असन्तुलित खानपान र मोटोपन
-
मदिरा सेवन
-
शारीरिक व्यायामको कमी
-
विभिन्न सङ्क्रमण (हेपाटाइटिस बी, सी, एचपीभी भाइरस)
-
विकिरण र वातावरणीय जोखिम
-
आनुवंशिक कारण (५–१० प्रतिशत)
क्यान्सरको जोखिम कसरी घटाउने ?
-
सुर्तीजन्य पदार्थको सेवन नगर्ने
-
सन्तुलित आहार खाने
-
नियमित व्यायाम गर्ने
-
मदिरा र प्रशोधित खानेकुरा कम गर्ने
-
फलफूल र तरकारी बढी खाने
-
घामबाट आवश्यक सावधानी अपनाउने
-
समय–समयमा स्वास्थ्य परीक्षण गर्ने
विश्व क्यान्सर दिवस ले हामी सबैलाई स्वास्थ्यप्रति जिम्मेवार बन्न, क्यान्सरबारे खुलेर कुरा गर्न र पीडितप्रति सहानुभूति तथा सहयोग बढाउन प्रेरणा दिन्छ ।







