काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न आजदेखि नेपाली सेना परिचालन गरिएको छ। सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार फागुन २१ गते हुने चुनावलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन भएका हुन्।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले, दोस्रो घेरा सशस्त्र प्रहरीले तथा बाहिरी सुरक्षा घेरा नेपाली सेनाले सम्हाल्नेछन्। सेनाले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ।
निर्वाचन सुरक्षाअन्तर्गत सेनाले मतपत्र छपाइ, ढुवानी, मतदानस्थल, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासमेतको जिम्मेवारी सम्हाल्नेछ। साथै आवश्यकताअनुसार संयुक्त गस्ती र महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।








