काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले करिब एक महिनादेखि चुनावी घोषणापत्र तयारी गरिरहेको छ। घोषणापत्र लेखनका लागि नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ।
पार्टीका अनुसार विभिन्न विषयगत समूह बनाएर सुशासन, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, संघीयता, सामाजिक न्याय र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा मस्यौदा तयार भइसकेको छ। स्थानीय तह तथा विज्ञसँगको सुझावका आधारमा घोषणापत्रलाई व्यवहारिक र समयसान्दर्भिक बनाइने जनाइएको छ।
हाल नेताहरू निर्वाचन क्षेत्रमा व्यस्त भएकाले घोषणापत्रलाई अन्तिम रूप दिन बाँकी रहेको र चाँडै सार्वजनिक गरिने पार्टीले जनाएको छ। यसपटक घोषणापत्र छोटो, यथार्थपरक र कार्यान्वयनयोग्य हुने बताइएको छ।







