प्रतिनिधिसभा निर्वाचनका लागि २५ जिल्लाको मतपत्र छपाइ सम्पन्न, ३० लाखभन्दा बढी मतपत्र तयार

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म करिब ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार २५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ । समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र यसअघि नै छपाइ भइसकेका छन् । यस्तै, मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमुना मतपत्र पनि छपाइ सम्पन्न भएको छ ।

निर्वाचन शिक्षा प्रयोजनका लागि आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ । ती सामग्री आयोगका आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गरिएको छ ।

यसैबीच, निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्र सङ्घीय निकायका प्रतिनिधिलाई ब्रिफिङ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्