आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तान सहभागी हुने, भारतसँगको खेल नखेल्ने घोषणा

(AP Photo/K.M. Chaudary)

पाकिस्तानले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा आफ्नो राष्ट्रिय टोली सहभागी गराउने निर्णय गरेको छ । तर समूह चरणमा भारतसँग श्रीलंकामा तय भएको खेल नखेल्ने स्पष्ट पारेको छ । भारतसँग फेब्रुअरी १५ (फागुन ३) मा हुने भनिएको खेल नखेल्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्स (ट्विटर) खातामार्फत सार्वजनिक गरेको हो । उक्त निर्णय पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफ र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीबीच भएको उच्चस्तरीय बैठकपछि सार्वजनिक गरिएको हो ।

यसअघि पीसीबी अध्यक्ष नक्वीले पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावमा निर्णय भइरहेको दाबी गरेका थिए । उनले विश्वकप सहभागितासम्बन्धी अन्तिम निर्णय जनवरी ३० वा फेब्रुअरी २ भित्र सार्वजनिक गरिने बताएका थिए ।

यसअघि बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्यान्डलाई समावेश गरेको थियो । त्यसपछि पाकिस्तानले पनि विश्वकप सहभागिताबारे पुनः विचार गरिरहेको थियो । बंगलादेश क्रिकेट बोर्डले भारतीय क्रिकेट बोर्डको दबाबमा आफ्ना खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट हटाइएपछि भारत भ्रमण नगर्ने निर्णय लिएको बताइएको छ ।

यस विषयमा आईसीसी र सम्बन्धित बोर्डहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेपछि आईसीसीले प्रतियोगिताको तालिका यथावत् रहने निर्णय गर्दै बंगलादेशको अपिल अस्वीकार गरेको थियो । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४) देखि शुरू हुनेछ । प्रतियोगितामा नेपालसहित २० वटा टोलीको सहभागिता रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्