अमेरीकाबाट जीवानन्द भट्टले गरे स्वर्गीय पिताको पुण्यतिथिमा वृद्धाश्रम र विद्यालयलाई सहयोग

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका–३, देथला स्थायी घर भई हाल संयुक्त राज्य अमेरिकाको टेक्सासमा बसोबास गर्दै आउनुभएका गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व उपप्राध्यापक जीवानन्द भट्टले आफ्ना स्वर्गीय पिता शंकरदत्त भट्टको ३०औँ वार्षिक पुण्यतिथिको अवसरमा  नेपालमा वृद्धाश्रम र विद्यालयलाई सहयोग गर्नुभएको छ।

स्वर्गीय पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै भट्टले आफ्नो व्यक्तिगत तथा परिवारजनको तर्फबाट गोकुलेश्वरस्थित श्री ॐ शान्ति वृद्धाश्रम, जगतपुरीधाममा आश्रित वृद्ध आमाहरूका लागि नगद रु ३ हजारसहित कम्मल ३ थान, न्यानो स्विटर ३ थान, शाल ३ थान, खाद्यान्न सामग्री (दाल, चामल, तेल, चिनी) तथा सरसफाइ सामग्री (साबुन, सरफ) सहयोग प्रदान गर्नुभएको हो।

उक्त सामग्री वितरण कार्यक्रम श्री ॐ शान्ति वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष उत्तम सिंह साउद, गोकुलेश्वर माध्यमिक विद्यालयका शिक्षक देवदत्त भट्ट तथा श्री शैल्य मालिकार्जुन जगतपुरी शिवधाम तीर्थस्थल विकास समितिका अध्यक्ष एवम् गोकुलेश्वर माविका प्रधानाध्यापक पिताम्बर बिष्टको उपस्थितिमा गरिएको थियो।

यसै अवसरमा गोकुलेश्वर–कठपतेका स्थानीय युवा व्यवसायी सुवास पाण्डेयले वृद्धाश्रमका लागि २५ किलो चामल सहयोग गर्नुभएको छ। सहयोगप्रति आयोजकले उहाँको व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक उन्नतिको कामना व्यक्त गरेका छन्।

त्यसैगरी, शैल्यशिखर नगरपालिका–३ लुइटास्थित श्री जगन्नाथ आधारभूत विद्यालयको कोषका लागि पनि भट्टले रु २१ हजार १११ सहयोग प्रदान गर्नुभएको छ। स्वर्गीय शंकरदत्त भट्ट तत्कालीन शिक्षा कार्यालय दार्चुलाका सुब्बासाहेब, शिक्षा प्रेमी, बुद्धिजीवी तथा समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो भने उहाँकै कान्छा सुपुत्र भट्ट उक्त विद्यालयका पूर्व विद्यार्थी, निम्न माध्यमिक तहका संस्थापक तथा गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व अङ्ग्रेजी प्राध्यापकसमेत हुनुहुन्थ्यो।

विद्यालय परिवारले विदेशमा रहेर पनि जन्मभूमि र समाजप्रतिको दायित्व निर्वाह गरेको भन्दै भट्टलाई हार्दिक आभार व्यक्त गरेको छ। साथै स्वर्गीय शंकरदत्त भट्टप्रति श्रद्धासुमन अर्पण गर्दै भट्ट परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। साथै नेपालका लागि सहजिकरण गोकुलेश्वरका उप प्राध्यापक लोकेन्द्र भण्डारीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्