काठमाडौँ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल १५ जिल्लाका १८ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका मतपत्र छपाइ सकिएको हो । मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा भइरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भइसकेको छ । त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ र २, कैलाली निर्वाचन क्षेत्र नम्बर १, झापा निर्वाचन क्षेत्र नम्बर ५ र सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका मतपत्र छपाइ पनि सकिएको छ ।
नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय थान छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइको काम समेत पूरा भइसकेको छ ।








