काठमाडौँ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा कुहिरो लागेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराईका केही स्थानमा कुहिरो रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशलगायत अन्य हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ ।
यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । आज राति तराई क्षेत्रका केही स्थानमा हुस्सु लाग्ने तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।







