काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा संस्थामाथि निगरानी कडा बनाएको छ । गैरकानुनी कार्यमा संलग्नलाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याइने आयोगले जनाएको छ ।
आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म पत्ता लगाएका ३ सय २ वटा हानिकारक सूचना सम्बन्धित कानुन बमोजिम कारबाहीका लागि निकायहरूमा पठाइएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ माघ ४ गतेदेखि लागू गरिएको हो । आचारसंहिता लागू भएयता माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा आठ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।
निर्वाचन खर्चलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइएको र ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ । आचारसंहिता विपरीत गतिविधि भएमा सम्बन्धित निकायमा उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ ।







