काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेशका निर्वाचन क्षेत्र समेटेर मतपत्रको नमूना सार्वजनिक गरेको हो, जसमा एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक नमूना समावेश छन्। यी नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार फरक–फरक बनाइएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र छापिएको छ। सोही आधारमा काठमाडौँको नमूना मतपत्र सबैभन्दा ठूलो रहेको आयोगले जनाएको छ।
कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन्। ती सबै जिल्लाका मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र, अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम रहेकामा ती सबैका नमूना मतपत्र सार्वजनिक गरिएको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइसमेत सम्पन्न भइसकेको छ।







