काठमाडौँ । अमेरिकी डलरको भाउ आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
हिजो अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा रहेको थियो भने त्यसअघिल्लो दिन बिहीबार खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो । केही दिनयता डलरको भाउ निरन्तर उकालो लागिरहेको देखिन्छ ।
डलरको मूल्य बढ्दा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आउने रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको भनाइ छ । तर, डलर महँगिँदा वस्तु तथा सेवा आयात गर्दा भुक्तानी लागत बढ्ने भएकाले आयातमुखी अर्थतन्त्रलाई दबाब पर्ने देखिन्छ ।
आज क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारको मूल्य पनि बढेको छ । राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै स्विस फ्रयाङ्कको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा छ ।
युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा तोकिएको छ भने पाउन्ड स्ट्रलिङको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।







