काठमाडौं – संस्थागत विद्यालय सञ्चालकहरूको मञ्ज (फिजम) को आयोजनामा फिजम अन्तर–विद्यालय फुटबल प्रतियोगिता माघ १८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा फिजममा आबद्ध करिब १६ वटा विद्यालय समूहको सहभागिता रहने आयोजकले जनाएको छ।
विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन तथा आपसी सद्भाव विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन तथा सबै खेलहरू भक्तपुरको सानोठिमीस्थित भक्तपुर युथ एसोसिएसनको खेलमैदानमा सञ्चालन हुनेछन्।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत विद्यालयस्तरमै प्रतिभावान खेलाडी पहिचान गर्ने र खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको फिजम सचिव सुनिल केसी खत्रीले जानकारी दिनुभयो।
प्रतियोगिताको पहिलो चरणमा बेष्ट ग्रुप भीजन स्कुल र रत्न शिक्षा सदनबिच हुनेछ भने भीभीएम र भीमेश्वर एकेडेमीबीच हुनेछ । यसैगरी अर्को खेल लाइसियम प्याराडाइज एकेडेमी र ग्रीन वीच स्कुलबीच हुनेछ भने एम्स स्कुल र ग्लोबल स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरेको छ ।
यसैगरी पहिलो चरणमै ट्रिटन स्कुल र ग्रामर पब्लिक स्कुलबीच हुनेछ भने अर्को खेल नेक्सस् स्कुल र मोनाष्टिक पब्लिक स्कुलबीच हुनेछ भने पहिलो चरणको अन्तिम खेल अर्किड स्कुल र नेपाल तारा स्कुलबीच हुनेछ ।








