काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरूको मञ्ज (फिजम) द्वारा आयोजित फिजम अन्तर–विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८२ को १२औँ संस्करण भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, केन्द्रीय प्रतिष्ठानमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो, जहाँ विद्यार्थीहरूले नेपाली लोकसंस्कृति, मौलिक नृत्य र परम्परागत पहिरनमार्फत आकर्षक प्रस्तुति दिएका थिए।
प्रतियोगितामा भीमेश्वर एकेडेमी प्रथम, रत्नशिक्षा सदन द्वितीय, मोनाष्टिक पब्लिक स्कुल तृतीय तथा जेनियम नेशनल एकेडेमी चौथो भएका छन्। बेष्ट ग्रुप भीजन स्कुल र हेब्रन पब्लिक स्कुल संयुक्त रूपमा पाँचौँ स्थानमा रहन सफल भएका छन्। विधागततर्फ उत्कृष्ट पहिरनको पुरस्कार ग्रामर स्कुलले प्राप्त गरेको छ भने उत्कृष्ट कोरियोग्राफीको पुरस्कार अर्किड प्युपल स्कुललाई प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ रहनुभएको थियो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति र पहिचानसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। फिजम अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्व, विद्यालय प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने फिजम सचिव सुनिल केसी खत्रीलाई समेत प्रमाणपत्रद्वारा सम्मानित गरेको थियो ।









