काठमाडौँ । अर्थ मन्त्रालयले आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।
अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई गएको कात्तिक १८ गते पहिलो चरणमा ४ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको थियो। त्यसपछि मंसिर २० गते थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको हो। अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।
मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्रोत सहमति र निकासा केन्द्रित गरेको देखिन्छ।
यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ गते दुई करोड ८० लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ। नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २८ गते चार करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय तथा त्यसअन्तर्गतका निकायलाई प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १० अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ। त्यस्तै, नेपाली सेनालाई निर्वाचन केन्द्रित चालू खर्चका लागि एक अर्ब ९४ करोड ६८ लाख ५५ हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।







