देशभर विभिन्न कार्यक्रमसहित आज सहिद दिवस मनाइँदै

काठमाडौँ – देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित विभिन्न कालखण्डमा स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि बलिदान दिने सम्पूर्ण सहिदहरूको सम्झनामा यो दिवस मनाइने गरिएको हो।

राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन शासकहरूले उनीहरूलाई मृत्युदण्ड दिएका थिए। ती सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाकै कारण जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहासमा उल्लेख छ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापना र विभिन्न आन्दोलनका क्रममा जीवन बलिदान गर्ने सहिदप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। यस अवसरमा देशभर श्रद्धाञ्जली सभा, प्रभातफेरी, वक्तृत्वकला, दीप प्रज्वलनलगायत विविध कार्यक्रम आयोजना गरिँदैछ।

यसअघि माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने घोषणा गरी विभिन्न सचेतनामूलक तथा स्मरण कार्यक्रम सञ्चालन हुँदै आएका छन्। विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

इतिहासअनुसार १९९७ सालमा स्वतन्त्रताको माग गरेकै कारण सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकहरूले मृत्युदण्ड दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्