काठमाडौं – जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने निपाह भाइरस हालसम्म नेपालमा पुष्टि नभए पनि यसको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूमा निगरानी बढाइएको छ। शङ्कास्पद लक्षण देखिएका यात्रुहरूको नमुना परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस फलफूल खाने चमेराबाट सुरु भई सुँगुर, गाईबस्तु हुँदै मानिसमा सर्ने गर्दछ। संक्रमित व्यक्तिको रगत वा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो रोग सर्न सक्ने उहाँले बताउनुभयो। निपाह भाइरस संक्रमणका प्रमुख लक्षणमा ज्वरो आउनु, टाउको दुखाइ, रिङ्गटा लाग्नु र श्वासप्रश्वासमा समस्या देखिनु रहेका छन्। समयमै उपचार नपाए मृत्युदर ४० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।
हालसम्म निपाह भाइरसविरुद्ध कुनै निश्चित खोप वा विशेष उपचार उपलब्ध नभएको चिकित्सकहरूले बताएका छन्। त्यसैले सावधानी नै सबैभन्दा प्रभावकारी उपाय रहेको उनीहरूको भनाइ छ। चिकित्सकहरूले फलफूल राम्ररी पखालेर मात्र खाने, मासु पकाउँदा पन्जा र मास्क प्रयोग गर्ने, पानी उमालेर पिउने, साबुनपानीले नियमित हात धुने तथा भिडभाडमा मास्क लगाउन सुझाव दिएका छन्।
नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभए पनि नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा देखिएको अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।







