पुणे (भारत) – भारतको महाराष्ट्र राज्यको पुणेस्थित बारामती विमानस्थलमा बुधबार बिहान भएको चार्टर विमान दुर्घटनामा नेशनलिस्ट कंग्रेस पार्टी (एनसीपी) का अध्यक्ष तथा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा पवारका दुई जना सुरक्षाकर्मी र विमानका दुई जना चालक दलका सदस्यको ज्यान गएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुर्घटनाको मुख्य कारण अवतरणका क्रममा दृश्यता र रनवे देख्न नसक्नु रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
डीजीसीएका अनुसार उक्त विमानले बिहान ८ बजेर १८ मिनेटमा रनवे–११ मा अवतरणको पहिलो प्रयास गरेको थियो। पाइलटले एअर ट्राफिक कन्ट्रोल (एटीसी) सँग भिजिबिलिटी र हावाको अवस्थाबारे जानकारी मागेका थिए। एटीसीले हावा शान्त रहेको र भिजिबिलिटी ३ हजार मिटर रहेको जानकारी दिएपछि अवतरण प्रयास गरिएको थियो। तर रनवे स्पष्ट नदेखिएपछि विमानले ‘गो–अराउन्ड’ गरेको थियो।
दोस्रो पटक बिहान ८ बजेर २३ मिनेटमा अवतरण प्रयासका क्रममा विमान धावनमार्ग बाहिर दुर्घटनाग्रस्त भएको बीबीसीले डीजीसीएको प्रारम्भिक रिपोर्ट उद्धृत गर्दै जनाएको छ। दोस्रो प्रयासमा पनि पाइलटले हावा र दृश्यताबारे जानकारी मागेका थिए तर त्यसपछि विमानबाट कुनै प्रतिक्रिया नआएको बताइएको छ।
मन्त्रालयका अनुसार विमान रनवे–११ को थ्रेसहोल्ड नजिकै बायाँतर्फ खसेको पाइएको छ। दुर्घटनापछि आपतकालीन सेवा तुरुन्तै परिचालन गरिएको थियो।
दुर्घटनाको छानबिन विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले सम्हालेको छ। एएआईबीका महानिर्देशकसहितको टोली घटनास्थलतर्फ पुगिसकेको छ।
दुर्घटनाग्रस्त विमान भिटी–एसएसके, लियरजेट ४५ श्रेणीको चार्टर विमान हो, जुन मुम्बईबाट बारामतीतर्फ उडानमा थियो। क्यानाडाली कम्पनी बम्बार्डियर एरोस्पेसद्वारा निर्मित यो विमान सन् २०१० मा बनेको हो र दिल्लीस्थित वीएसआर भेन्चर्स एभिएसन कम्पनीको स्वामित्वमा रहेको बताइएको छ। कम्पनीको अन्तिम नियामक अडिट फेब्रुअरी २०२५ मा गरिएको र कुनै कमजोरी नदेखिएको डीजीसीएले जनाएको छ।
विमानमा दुई सदस्यीय चालक दल सवार थिए। एक जना एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्सधारी थिए, जसको करिब १५ हजार घण्टाको उडान अनुभव रहेको थियो भने अर्का पाइलटसँग कमर्सियल पाइलट लाइसेन्स र समान अनुभव रहेको मन्त्रालयले जनाएको छ।
दुर्घटनाप्रति भारतका प्रधानमन्त्री, महाराष्ट्रका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्। महाराष्ट्र सरकारले तीन दिनको राजकीय शोक घोषणा गरेको छ।
छानबिनबाट थप तथ्य सार्वजनिक भएपछि विस्तृत विवरण उपलब्ध गराइने उड्डयन मन्त्रालयले जनाएको छ।








