काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न कडा चेतावनी दिनुभएको छ। खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उहाँले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित उद्देश्यसहित अघि बढिरहेको दाबी गर्नुभएको छ। उहाँले यो सैन्य परिचालन यसअघि भेनेजुएलामा पठाइएको नौसैनिक समूहभन्दा पनि ठूलो रहेको उल्लेख गर्दै इरानलाई चेतावनी दिनुभएको हो।
यसप्रति प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानको सशस्त्र बल अमेरिकी कदमको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएका छन्। उहाँले स्थल वा समुद्रबाट हुने कुनै पनि आक्रमणको “तत्काल र शक्तिशाली जवाफ” दिने चेतावनी दिनुभएको छ। इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दोहोर्याउँदै आएको छ र परमाणु हतियार विकाससम्बन्धी अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।
हालै अमेरिकी सेनाले जोर्डन, कतार, बहराइन तथा हिन्द महासागर क्षेत्रमा लडाकु विमान, ड्रोन, जासुसी विमान, इन्धन भर्ने जहाज र युद्धपोतहरू तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जोर्डनको मुवाफाक सल्ती एयर बेसमा मात्रै कम्तीमा १५ लडाकु विमान पुगेका छन्।
यसैबीच, इरानले पनि आफ्नो तट नजिकै आईआरआईएस ड्रोन क्यारियर जहाज तैनाथ गरेको उपग्रह तस्बिर सार्वजनिक भएका छन्। सन् २०१५ को परमाणु सम्झौता (JCPOA) अनुसार इरानलाई युरेनियम ३ दशमलव ६७ प्रतिशतभन्दा बढी संवर्धन गर्न प्रतिबन्ध लगाइएको थियो। तर, सन् २०१८ मा ट्रम्पले अमेरिका सम्झौताबाट बाहिरिएपछि इरानले ती प्रतिबन्धहरू उल्लङ्घन गर्दै आएको आरोप लगाइएको छ।







