काठमाडौँ – निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका रूपमा तोकिएको हो। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।
त्यसैगरी प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित आचारसंहिता अनुगमनको जिम्मेवारी फरक–फरक रूपमा तोकिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको हो। आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ भने मतदान आउँदो फागुन २१ गतेका लागि तोकिएको छ।







