काठमाडौँ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण सिर्जना भएको तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर छानबिन अघि बढाइएको हो।
समितिमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष र प्रहरी निरीक्षक सदस्य रहेका छन्। निष्पक्ष छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झालाई केही समयका लागि बिदामा बस्न र शवगृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकिएको जनाइएको छ।
गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो। सोही समयमा सप्तरीकी समान उमेरकी किशोरी राधिका कुमारी साहको शव पनि परीक्षणका लागि राखिएको अवस्थामा अस्पतालले झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाएको थियो। परिवारले आइतबार नै अन्त्येष्टि गरिसकेका थिए।
सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन अस्पताल पुग्दा मात्रै शव साटिएको घटना सार्वजनिक भएको हो।








