काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आयोगले यही माघ ४ गतेदेखि लागू गरेको आचारसंहिताको अनुगमन गर्दै उजुरीका आधारमा पनि उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ। आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जाजरकोटबाट उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडिएको देखिने भिडिओ सार्वजनिक भएपछि स्पष्टीकरण सोधेको छ। त्यसैगरी, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण मागेको छ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा सरकारी गाडी प्रयोग गरिएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत आयोगले स्पष्टीकरण सोधेको जनाएको छ। द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा काठमाडौँ–४ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही गर्न सक्ने कानुनी अधिकार आयोगसँग रहेको छ।








