हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना नभइ सत्तामा जानु हुँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना नभएसम्म सत्ता केन्द्रित राजनीति नगर्ने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले राप्रपा सत्ताका लागि होइन, विचार र एजेन्डाका लागि राजनीतिमा रहेको बताए। उनले हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दा स्थापित नगरी सत्ता जानुको कुनै अर्थ नरहेको जिकिर गरे।

थापाले राजा स्वयं मतदाता रहेको निर्वाचन क्षेत्रबाट विजयी भएर संसद पुग्न सके देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि बलियो सन्देश जाने उल्लेख गरे। “हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन हामी सत्तामा जानु छैन। सत्ता केन्द्रित राजनीति गर्ने छैनौं। यो सन्देश हामीले हरेक नेपालीलाई दिनुपर्छ। स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदा देश–विदेशमा महत्त्वपूर्ण सन्देश जान्छ,” थापाले भने।

काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दूराष्ट्र र राजसंस्था चाहने तथा राष्ट्रवादी सोच राख्ने मतदाताको ठूलो संख्या रहेको दाबी गर्दै उनले त्यस जनमतलाई मतमा परिणत गर्न सकिए निर्वाचन जित सुनिश्चित हुने बताए। “काठमाडौं–५ मा हिन्दूराष्ट्र चाहने, राजसंस्था चाहने र राष्ट्रवादीहरूको ठूलो जनमत छ। त्यो जनमतलाई भोटमा बदल्न सक्यौं भने फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ,” थापाले भने।

उनले सो लक्ष्य हासिल गर्न राप्रपा निरन्तर रूपमा जनतामाझ पुगेर अभियानमा खटिएको पनि जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्