काठमाडौं । देशका पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पश्चिमका विभिन्न जिल्लामा हिजो बेलुकीदेखि वर्षा र हिमपात भइरहेको हो।
हुम्ला, जुम्ला, दार्चुला, बैतडी र डडेल्धुरालगायतका जिल्लामा हिमपात भएको छ। लामो समयदेखि वर्षा नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक वर्षासँगै हिमपात भएको हो। गएको भदौयता पानी नपर्दा चिन्तित बनेका किसान हिमपातपछि भने खुशी भएका छन्।
हिमपात भएसँगै हुम्लाको नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जुम्लामा पनि हिमपात भएको छ। विगतमा हिउँद सुरु हुनासाथ पुसमै पानी र हिउँ पर्ने गरे पनि यस वर्ष ढिलो हिमपात भएको स्थानीयले बताएका छन्।
हिउँदेबाली सुक्न थालेको अवस्थामा हिमपातले राहत पुगेको कनकासुन्दरी गाउँपालिका–२ का किसान रतन रावतले जानकारी दिनुभयो। अर्का किसान गोपाल रोकायाका अनुसार किसानका लागि यो हिमपात ‘चाँदी सरह’ भएको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ। यद्यपि हिमपातका कारण जनजीवन भने सामान्य रूपमा प्रभावित भएको छ।
बैतडीको उच्च भू–भाग खोड्पे, श्रीभावर, सतबाँझलगायतका क्षेत्रमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार हिमपात भए पनि हालसम्म सडक यातायातमा कुनै समस्या देखिएको छैन।
त्यसैगरी दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामसहित हगुल्टे, साहुखर्क र भातकाँडा क्षेत्रमा पनि हिमपात भएको छ। वर्षा र हिमपातले विशेषगरी हिउँदेबाली गहुँलाई फाइदा पुग्ने अनुमान गरिएको छ। चिसो बढेकाले स्वास्थ्यकर्मीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
हाल पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र भोलिसम्म पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजो ५.२ डिग्री सेल्सियस थियो।





