काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको थियो।
आयोगले जानकारी दिएअनुसार समानुपातिकतर्फ अझै ५० लाख थान मतपत्र छाप्न बाँकी छ। बाँकी मतपत्र छपाइ कार्य सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु गरिनेछ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली यसअघि नै तय भइसकेको छ। मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा वितरण गरिएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कुल तीन हजार ४०६ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। तीमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला तथा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन्।
आयोगले शुक्रबार उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी दर्तादेखि नाम फिर्तासम्मको सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
यसैबीच, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नामावली पनि आयोगले प्रकाशित गरिसकेको छ।






