काठमाडौँ । काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले सरस्वती पूजाको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध गीत, सङ्गीत र मनमोहक नृत्यले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जितेका थिए।
कार्यक्रमको संयोजन विद्यालयका संयोजक नरेन्द्र पाण्डेयले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक उपलब्धि, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार तथा मेडल प्रदान गरिएको थियो। साथै एसइई–२०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ। यसै अवसरमा बिहान विद्यालय परिसरमै सरस्वती पूजा विधिपूर्वक सम्पन्न गरिएको थियो। पूजा कार्यक्रमपछि सुरु भएको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले शैक्षिक गुणस्तरसँगै संस्कार, संस्कृति र सिर्जनात्मक क्षमताको विकासमा विद्यालय निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। त्यस्तै विद्यालयका सञ्चालक तथा निर्देशक प्रेमकुमार भुजेलले विद्यार्थीको समग्र विकास नै विद्यालयको प्रमुख लक्ष्य रहेको बताउँदै अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सहकार्यले विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्दै लगिएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो। वर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकका रूपमा सम्झना दाहाल सम्मानित हुनुभएको छ। कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रतिक्रिया दिएका छन्।





