काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णयसहित पाँच निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
बैठकले गरेका निर्णय यसप्रकार रहेका छन्—
पहिलो, २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने उपसभापति विश्वप्रकाश शर्माले पेस गर्नुभएको प्रस्ताव र उपसभापति पुष्पा भुसालले गर्नुभएको समर्थनलाई केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ।
तेस्रो, नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरिएको छ।
चौथो, २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गर्ने निर्णय गरिएको छ।
पाँचौँ, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरिएको छ।
बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउने संकेत गरेको छ।






