सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। पार्टी मुख्यालय सानेपा, ललितपुरमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उहाँका अनुसार उपसभापति विश्वप्रकाश शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गर्नुभएको थियो, जसलाई बैठकले पारित गरेको हो।

काठमाडौँको भृकुटीमण्डपमा गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि गगन थापा आज पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पुग्नुभएको हो। सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।

सभापति थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ। यसैबीच कांग्रेसभित्र शेरबहादुर देउवा पक्षको असन्तुष्टि कायमै रहँदा निर्वाचन आयोगले थापा पक्षलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेको थियो।

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा गगन थापाको नेतृत्वमा सरकार गठन गर्ने लक्ष्यसहित चुनावी अभियानलाई तीव्र बनाउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्