काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। निर्वाचन आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको प्रणालीमा प्राप्त अद्यावधिक विवरणअनुसार विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन्। यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी–विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए।
आयोगका अनुसार भोलि समानुपातिकतर्फको दाबी–विरोध प्रक्रिया सम्पन्न भएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको अन्तिम उम्मेदवार नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार आज बेलुकी ७ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ।






