गोरखा–२ मा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए, रास्वपालाई समर्थन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

गोरखा–२ बाट चौथोपटक उम्मेदवार बनेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । निर्वाचन अधिकृत मोहन बेलवासेका अनुसार डा. भट्टराईले प्रतिनिधि नारायण खत्रीमार्फत् उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका छन् ।

गोरखा–२ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार रहेका छन् । यसअघि रास्वपा सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेले डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । महामन्त्री बुर्लाकोटीका अनुसार सभापति लामिछानेले फोनमार्फत् नै डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

‘भट्टराई परिवर्तनको आवाज हो । उहाँ सधैं परिवर्तनकै पक्षमा दृढतापूर्वक उभिँदै आउनुभएको छ । मुलुक परिवर्तनको सङ्घारमा रहेका बेला यसपटक हामीलाई सघाउँदै उम्मेदवारी फिर्ता लिन सभापतिज्यूले व्यक्तिगत तथा संस्थागतरूपमा आग्रह गर्नुभएको हो,’ बुर्लाकोटीले बताए ।

बुर्लाकोटी गोरखा–२ बाट दोस्रोपटक उम्मेदवार बनेका हुन् । अघिल्लो निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए । त्यस निर्वाचनमा डा. भट्टराईले प्रचण्डलाई समर्थन गरेका थिए ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि सामाजिक सञ्जालमार्फत् डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । उनले पुराना दलहरूले हासिल गरेका राजनीतिक उपलब्धिको संरक्षण गर्दै आर्थिक समुन्नतिको बाटो नयाँ र वैकल्पिक राजनीतिक शक्तिबाट सम्भव हुने निष्कर्षका साथ डा. भट्टराईले नै नयाँ शक्तिको अवधारणा अघि सारेको उल्लेख गरेका छन् ।

वाग्लेले आगामी फागुन २१ पछि रास्वपाको नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक, प्रशासनिक, सुशासन र विकाससम्बन्धी संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभवबाट धेरै सिक्न सकिने बताएका छन् । त्यसैले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिएर रास्वपालाई सघाउन आग्रह गरिएको उनले स्पष्ट पारेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्