काठमाडौँ – काठमाडौँको पेप्सीकोलामा अवस्थित नेक्सस् इन्टरनेशनल स्कुलले सरस्वती पूजाको पावन अवसरमा विशेष अक्षरारम्भ कार्यक्रम आयोजना गर्ने भएको छ। साना बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममार्फत ज्ञानकी देवी सरस्वतीको आराधनासँगै बालबालिकाको शैक्षिक यात्राको शुभारम्भ गरिनेछ।
नेक्सस् इन्टरनेशनल स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई आत्मसात गर्दै सुरक्षित, अनुशासित र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा International Primary Curriculum (IPC) अन्तर्गत शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन हुँदै आएको छ, जसले विद्यार्थीहरूको बौद्धिक, सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा समान महत्व दिन्छ।
सरस्वती पूजाकै अवसरमा विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया पनि खुला गरेको छ। कक्षा १० सम्म पढाइहुने नेक्सस्मा भोलि प्रि–स्कुलमा भर्ना लिन सकिने छ। व्यवहारिक, परियोजना आधारित तथा बालकेन्द्रित शिक्षण विधिमार्फत विद्यार्थीलाई सिर्जनशील, आत्मविश्वासी र विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने लक्ष्य विद्यालयको रहेको छ।
अनुभवी, दक्ष तथा अन्तर्राष्ट्रिय पाठ्यक्रममा प्रशिक्षित शिक्षकहरूको टोलीले शिक्षण कार्यलाई अझ प्रभावकारी बनाइरहेका छन्। आधुनिक प्रविधिको प्रयोग, व्यक्तिगत मूल्याङ्कन प्रणाली, सह–पाठ्यक्रम गतिविधि, खेलकुद, कला तथा नेतृत्व विकास कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले विशेष ध्यान दिएको छ।
विद्यालय प्रशासनका अनुसार, नेक्सस् इन्टरनेशनल स्कुलले केवल शैक्षिक ज्ञान मात्र नभई नैतिकता, संस्कार, अनुशासन र जीवन उपयोगी सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। IPC पाठ्यक्रममार्फत अन्तर्राष्ट्रिय सोच भएका, स्थानीय मूल्य–मान्यताप्रति सम्मान राख्ने र भविष्यका चुनौती सामना गर्न सक्षम विद्यार्थी उत्पादन गर्नु विद्यालयको दीर्घकालीन उद्देश्य रहेको छ।
सरस्वती पूजाको अवसरमा आयोजना हुने अक्षरारम्भ कार्यक्रममा सहभागी भई आफ्ना नानीबाबुको शैक्षिक यात्रालाई शुभ सुरुआत गराउन तथा विद्यालयको अन्तर्राष्ट्रिय शिक्षण प्रणालीबारे जानकारी लिन अभिभावकहरूलाई विद्यालयले हार्दिक आमन्त्रण गरेको छ।





