काठमाडौं – निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ। मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी लिइएको र साँझ नै दर्ता भएका उजुरीमाथि जाँचबुझ सम्पन्न भइसकेको आयोगले जनाएको छ।
आयोगको कार्यतालिकाअनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म प्राप्त विवरणअनुसार पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी १ गरी कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपटक जेन–जी आन्दोलनका कारण संसद विघटन भएपछि प्रतिनिधिसभाको निर्वाचन समयअगावै हुन लागेको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ।






