प्रतिनिधिसभा निर्वाचनः पाँच जना उम्मेदवारविरुद्ध उजुरी

फाइल तस्बिर

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुल ३ हजार ४ सय ८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको हो।

उजुरी पर्ने उम्मेदवारमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राजिव खत्री, जानुका पाठक, लालविक्रम थापा र रेशम चौधरी रहेका छन्। आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो। उजुरीमाथि छानबिनको प्रक्रिया सुरु भइसकेको र भोलि बेलुका ५ बजेसम्म निर्णय गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो।

निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। पर्सि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

शुक्रबारकै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्