आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्छु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्।

जनकपुरबाट पर्सा हुँदै चितवन पुगेका सभापति लामिछाने बुधबार अपराह्न काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले आफूविरुद्ध अनावश्यक आरोपसहित मुद्दा दायर गरिएको दाबी गरे पनि अदालतको विकल्प नभएकाले न्यायिक प्रक्रियालाई स्वीकार गर्नुपर्ने बताए।

‘नचाहिने कुराहरू लगाएर अभियोजनहरू भएका छन्। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ,’ उनले भने। लामिछानेले धेरै मुद्दाले मानसिक रूपमा असर पार्ने उल्लेख गर्दै अदालतप्रति गलत टिप्पणी गर्नु उपयुक्त नहुने बताए। ‘अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन,’ भन्दै उनले आफू अदालतप्रति आशा र भरोसा राखेर बसेको बताए।

चुनावसम्बन्धी पत्रकारहरूको प्रश्नमा उनले नतिजा जे आए पनि स्वीकार्ने मानसिकताका साथ अघि बढ्नुपर्ने बताए। ‘प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्,’ उनले भने।

चितवन–२ बाट निर्वाचनमा होमिएका लामिछानेले सिंगो चितवनलाई ‘घन्टीमय’ बनाउने अभियानमा आफू लागेको पनि बताए। ‘चितवनले सुरुवातमै उत्साहपूर्ण संकेत गरेको छ,’ उनले थपे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्