काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ जना र स्वतन्त्रतर्फ १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन्।
कुल उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष, ३ सय ९५ जना महिला र अन्य समूहबाट एक जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ। उजुरी परेपछि भोलि बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ। उजुरी, दाबी–विरोध तथा नाम फिर्ता प्रक्रियापछि उम्मेदवारको संख्या केही घट्न सक्नेछ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन प्रक्रिया सम्पन्न भएको बताउनुभयो। निर्वाचनका बाँकी कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दल तथा सबै सरोकारवालाबाट सहयोग प्राप्त हुनेमा आयोग विश्वस्त रहेको उहाँले जनाउनुभयो।






