काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ अभियान सञ्चालनमा ल्याएको छ। नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा “लिङ्क, लोड र जित्नुस् – विन रिवार्ड्स विथ खल्ती” अभियान २०८२ माघ र फागुन महिनाभर लागू हुने गरी सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त अभियान बैंकमा कार्यरत कर्मचारी तथा नेपाल बैंकमा खाता रहेका ग्राहकलाई लक्षित छ। अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क (Link) गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीमध्ये हरेक हप्ता दुई जनालाई मुभी टिकट वा खल्ती प्रो सब्सक्रिप्सन पुरस्कार प्रदान गरिनेछ। साथै अभियान अवधिभरको कारोबारको आधारमा दुई जना भाग्यशाली विजेतालाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। विजेताको घोषणा अभियान समाप्तिपछि गरिने बैंकले स्पष्ट पारेको छ।
अभियानमा सहभागी हुन खल्ती वालेटमा दर्ता भई केवाईसी (KYC) अद्यावधिक गरिएको हुनुपर्ने, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरिएको हुनुपर्ने तथा सोही लिङ्क गरिएको खाताबाट कारोबार भएको हुनुपर्ने सर्त तोकिएको छ।
यस अभियानसम्बन्धी थप जानकारीका लागि नजिकको नेपाल बैंक शाखा वा बैंकको कल सेन्टर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। डिजिटल बैंकिङ सेवाप्रति ग्राहकलाई थप उत्प्रेरित गर्न यो अभियान महत्वपूर्ण हुने विश्वास बैंकले लिएको छ।
हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। ग्राहक सेवामा सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत प्रतिस्पर्धी बैंकका रूपमा अघि बढिरहेको बैंकले जनाएको छ।





