राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न सरकारी परिचयपत्र अनिवार्य

काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले परिचय खुल्ने सरकारी कागजात अनिवार्य रूपमा लैजानुपर्ने भएको छ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न सरकारी परिचयपत्र आवश्यक हुने जानकारी दिनुभएको हो।

आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताले मात्र मतदान गर्न पाउनेछन्। यस निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। सातै प्रदेशमा ५५० प्रदेश सभा सदस्य रहेका छन् भने ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ १ हजार ५०६ मतदाता छन्।

मतदानका लागि जाँदा मतदाताले पाँच किसिमका कागजातमध्ये कुनै एक अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। आयोगका अनुसार निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा दिइएको प्रमाणपत्र, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखमा निर्वाचित हुँदा दिइएको प्रमाणपत्रबाट मतदान गर्न सकिनेछ।

यस्तै प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाइएको परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक भए पनि मतदान गर्न पाइने आयोगले जनाएको छ।

५९ सदस्यीय राष्ट्रिय सभामध्ये १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सदस्य रहेका छन्। राष्ट्रपतिबाट मनोनित सदस्यको स्थानमा सरकारको सिफारिसमा राष्ट्रपतिले अर्को व्यक्तिलाई मनोनित गर्नेछन् भने बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेले भागबण्डाका आधारमा क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् भने बाँकी एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरिएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्।

भागबण्डाअनुसार मधेश प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा तथा एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्। कोशी प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण तथा एमालेकी रेखा झा उम्मेदवार छन्। बागमती प्रदेशमा कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेम दंगाल उम्मेदवार बनेका छन्।

गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट सम्झना देवकोटा उम्मेदवार छन्। लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाँक्री उम्मेदवार छन्। कर्णाली प्रदेशमा कांग्रेसका ललितजंग शाही र एमालेकी मिना रखाल तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन्।

नेपाली कम्युनिस्ट पार्टीले भने सबै प्रदेशमा एकल उम्मेदवारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्