काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै रिटमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
अदालतको यो निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई पार्टी गतिविधि अघि बढाउन कानुनी बाधा हटेको छ। यसअघि शेरबहादुर देउवासमेत दुई जनाको तर्फबाट निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेका थिए। उक्त विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा उजुरी दिएको थियो। तर आयोगले नवनिर्वाचित नेतृत्वलाई नै वैधानिकता प्रदान गरेपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो।
विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् भने निर्वाचन आयोगले पनि थापा नेतृत्वकै कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिक समिति मानेको छ।
यसैबीच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टिकट गगन थापाले नै हस्ताक्षर गरेर वितरण गरिसकेका छन्। सोही आधारमा उम्मेदवारहरूले निर्वाचनमा उम्मेदवारी दर्ता गराइसकेका छन्।





