काठमाडौँ – सन्तोष कार्की स्मृति प्रतिष्ठानको आयोजनामा माध्यमिक विद्यालय स्तरीय “बालमैत्री संस्कार, उज्जवल भविष्यको आधार” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कागेश्वरी मनोहरा-९ स्थित भीमेश्वर एकेडेमीमा आज माघ ६ गते मंगलबार सम्पन्न प्रतियोगिताको सभापतित्व डा. बासुदेव कार्कीले गर्नुभएको थियो। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा प्रमुख अतिथि रहनु भएको थियो भने हिरा थोकर विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रतियोगितामा कागेश्वरी मनोहरा नगरपालिकासहित आसपासका १७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। वक्तृत्वकला प्रतियोगितामा कृपा घले (बेष्ट ग्रुप भिजन स्कुल) प्रथम, युनिसा अधिकारी (भीमेश्वर एकेडेमी) द्वितीय, सुयोग यादव (गान्धी आदर्श माध्यमिक विद्यालय) तृतीय र सञ्चिता कार्की (गोल्डेन वर्ड इंग्लिस स्कुल) चौथो हुन सफल भएका छन्।

निर्णायक मण्डलमा साहित्यकार डा. विनोद मञ्जन र डा. हरि सिलवाल रहनुभएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार र चौथोलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै चारै जना स्थान प्राप्त गर्ने विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको सन्तोष कार्की स्मृति प्रतिष्ठानका सचिव अमृतकुमार खड्काले जानकारी दिनुभयो।

कार्यक्रममा “बालमैत्री संस्कार उज्ज्वल भविष्यको आधार”बारे विद्यार्थीहरूले प्रस्तुत गरेका विचारहरूले सहभागी तथा अभिभावकहरूको ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ।






