प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै

फाइल तस्बिर

काठमाडौं — आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि सबै आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।

उम्मेदवारी दर्ता गर्न उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, वैयक्तिक विवरण फाराम र सम्पत्ति विवरण पनि बुझाउनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेश गर्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसअघि आयोगले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना निर्वाचित हुने व्यवस्था छ। यसैबीच आयोगले उम्मेदवारी दर्ताका क्रममा तडकभडक नगरी शान्त र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ। भीडभाड कम गर्ने र प्रक्रिया सहज बनाउने उद्देश्यले उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरिएको छ। चुनाव सुरक्षाका लागि प्रहरी छनोट प्रक्रिया सुरु भइसकेको छ भने अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन्, बाँकीले पनि आज बिहानसम्म टुंगो लगाउने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्