काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका छन्। रास्वपाले उनलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि पनि ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्। कुलमान घिसिङ आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ पार्टी गठन गरी चुनावी तयारीमा जुटेका छन् भने बब्लु गुप्ता पनि रास्वपाबाटै निर्वाचन लड्ने तयारीमा छन्।
मन्त्रिपरिषद्का सदस्यहरू लगातार राजीनामा दिएपछि सरकारको राजनीतिक समीकरण र आगामी निर्वाचनको तयारी थप चासोको विषय बनेको छ।





