कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट चार जनाको नाम सिफारिस

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्य पदका लागि धर्मानन्द जोशीसहित चार जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको निर्णयअनुसार सिफारिस गरिएका उम्मेदवारहरूको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा पठाइएको छ।

सिफारिस हुने उम्मेदवारहरूमा गणेशराज भट्ट, धर्मानन्द जोशी, नरेन्द्र सिंह धामी र हरक सिंह विष्ट रहेका छन्। गणेशराज भट्ट नेपाल विद्यार्थी संघका पूर्व उपसभापति भइसकेका नेता हुन्। उनी यसअघि राष्ट्रिय सभा सदस्यका लागि समेत दार्चुलाबाट सिफारिस भएका थिए।

धर्मानन्द जोशी पेशाले अधिवक्ता हुन्। उनले लामो समय संयुक्त राष्ट्रसंघमा मानव अधिकारका क्षेत्रमा काम गरेको अनुभव हासिल गरेका छन्। जोशी समाजसेवीका रूपमा समेत दार्चुलामा परिचित छन्। नरेन्द्र सिंह धामी मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष हुन् भने हरक सिंह विष्ट दुई कार्यकाल जिल्ला कार्यसमितिको सचिव भइसकेका छन्। विष्ट नेपाली कांग्रेसको महासमिति सदस्यसमेत हुन्।

जिल्ला कार्यसमितिले पार्टीको विधान र केन्द्रीय समितिको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारहरूको नाम सिफारिस गरिएको जनाएको छ। यसअघि पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूको एकल नाम सिफारिस गरिएको थियो। तर उनले आगामी निर्वाचन नलड्ने घोषणा गरेपछि दार्चुला कांग्रेसले पुनः चार जनाको नाम सिफारिस गरेको हो।

जिल्ला कार्यसमितिका अनुसार पार्टी संगठन, स्थानीय तह र कार्यकर्ताको भावना मध्यनजर गर्दै उम्मेदवार सिफारिस गरिएको हो। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको अन्तिम टुंगो भने नेपाली कांग्रेस संसदीय बोर्डले लगाउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्