काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूले अब ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
काठमाडौंको नागार्जुनमा अवस्थित जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि. र नेपाल बैंक लिमिटेडबीच यससम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकका कर्मचारीहरूले श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.द्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरू देशभर रहेका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।
सम्झौता पत्रमा २०८२ साल पौष ३० गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक श्री चिनबहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यबाट बैंकका ग्राहक र कर्मचारीहरूलाई गुणस्तरीय स्वदेशी उत्पादनमा विशेष छुट उपलब्ध हुने अपेक्षा गरिएको छ।





