काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान पार्टी कार्यालय सानेपा, ललितपुरमा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले हिजो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको थियो । तर पार्टीको आधिकारिकतासम्बन्धी आयोगको उक्त निर्णयलाई देउवा पक्षले अस्वीकार गर्दै आएको छ ।
बैठकमा निर्वाचन आयोगको निर्णय, पार्टीभित्रको वर्तमान राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।





