महाकाली नदीमा भारतीय पक्षको एकतर्फी हस्तक्षेप

फोटोः सुन्दर सिँह धामी

सुन्दरसिँह धामी ,दार्चुला –  नेपाल–भारत सम्बन्धलाई मित्रता र ऐतिहासिक निकटताको रूपमा प्रस्तुत गरिँदै आए पनि सीमावर्ती क्षेत्रको व्यवहारले उक्त दाबीलाई बारम्बार प्रश्नचिन्ह खडा गरिरहेको छ। विशेषगरी महाकाली नदी क्षेत्रमा भारतको शासकीय प्रवृत्ति सहकार्यभन्दा पनि दबाब र एकाधिकारमुखी देखिएको भन्दै स्थानीयस्तरबाट गम्भीर आपत्ति जनाइएको छ।

२०७० सालको विनाशकारी बाढीका बेला दार्चुला सदरमुकाम बग्दा नेपालले तटबन्ध निर्माणका लागि सहयोगको अपेक्षा गरेको थियो। तर त्यसबेला भारतीय पक्षबाट अवरोध सिर्जना भएको स्थानीयको भनाइ छ। अहिले भने नेपाल सरकारसँग कुनै औपचारिक सहमति नगरी महाकाली नदीमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको आरोप लागेको छ।

सीमा नदीमा गरिने कुनै पनि संरचना द्विपक्षीय सहमति र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने जानकारहरूको भनाइ छ। यस किसिमको एकतर्फी कार्य अन्तर्राष्ट्रिय कानुन तथा छिमेकी धर्मको उल्लंघन भएको उनीहरूले बताएका छन्। अझै चिन्ताको विषय यस्तो गम्भीर घटनाप्रति नेपाल सरकार मौन देखिनु रहेको स्थानीयको गुनासो छ।

नेपालका सम्बन्धित प्रशासनिक निकायलाई जानकारी नै नगराई तटबन्ध निर्माण गर्नु दुःखद र आपत्तिजनक भएको भन्दै जिल्ला प्रशासन, राजनीतिक दल तथा सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता औंल्याइएको छ।

नेपाल मित्रताको नाममा आफ्नो सार्वभौमिकता गुमाउन नसक्ने भन्दै अब भावनात्मक नारा होइन, दृढ र स्पष्ट कूटनीतिक कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ। महाकाली क्षेत्रमा भइरहेको एकतर्फी हस्तक्षेप तत्काल रोक्न ठोस राष्ट्रिय निर्णय लिनुपर्ने माग स्थानीयवासी तथा सरोकारवालाहरूले गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्