काठमाडौँ – आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक शनिबार माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले सचिवालय बैठकबाट उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन् । ती सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम एकल रूपमा आएको बताइएको छ ।
हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नबाट आफ्नै उम्मेदवार अघि बढाउने तयारी गरेको छ । दुर्गम भेगका उम्मेदवारलाई निर्वाचन क्षेत्रमा पुग्न र मनोनयनको तयारी गर्न समय लाग्ने भएकाले सचिवालय बैठकमार्फत समयमै उम्मेदवारी टुंग्याउन लागिएको शाहीले जानकारी दिए । यसअघि केन्द्रीय कमिटीको दोस्रो बैठकले उम्मेदवार छनोटको जिम्मा सचिवालयलाई दिएको थियो ।





