‘सबै तहका सरकार, सबै नागरिकको तयारी’ नारासहित २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

File Photo

काठमाडौँ – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यस दिवसको मुख्य उद्देश्य भूकम्पबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार संघ, प्रदेश र स्थानीय तहका सरकारले आ–आफ्नो स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् । यस अवसरमा आज काठमाडौँमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूको सहभागिता रहने जनाइएको छ ।

दिवसका अवसरमा देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो–भिडियो कार्यक्रमलगायत विविध सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछ । विज्ञहरूका अनुसार भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन, प्रभावकारी र द्रुत खोज तथा उद्धार प्रणाली, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारी अहिलेको प्रमुख आवश्यकता हो ।

नेपाल भूकम्पीय जोखिमयुक्त देश भएकाले व्यक्तिगत, सामुदायिक तथा सरकारी तहबाट पूर्वतयारी र समन्वयात्मक प्रयास आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्