काठमाडौँ – चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । माघे सङ्क्रान्ति (माघी) पर्वको अवसर पारी कृषि विभाग, बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले माघ १ गते हरेक बर्ष झै यस बर्ष पनि भृकुटीमण्डपको बगैचा परिसरमा कृषि विभागका महानिर्देशक प्रकाश सन्जेलको अध्यक्षता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको छ । यसैगरी कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवद्वय डा. राजेन्द्र प्रसाद मिश्र र डा. दीपक कुमार खराल समेत उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री डा. परियारले कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् ।

यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री परियारले नेपाल जैविक विविधतासम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको स्मरण गराउँदै सरकारले यसलाई आवधिक योजनामार्फत आन्तरिकीकरण गर्दै आएको बताउनुभयो । सरकारले कृषि जैविक विविधता नीति २०६३, वातावरण संरक्षण ऐन २०७६ तथा बिउबिजन ऐन २०८१ मार्फत स्थानीय तथा रैथाने बालीको संरक्षण र दर्ता प्रक्रिया सहज बनाएको उहाँको भनाइ छ ।

उहाँका अनुसार हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले पर–स्थानीय संरक्षणका कार्य गरिरहेको छ भने कृषि विभाग अन्तर्गतका निकायले स्व–स्थानीय संरक्षणमा काम गरिरहेका छन् । अहिले देशका ४० स्थानीय तहमा सामुदायिक बिउ बैंकमार्फत संरक्षणका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
कृषि जैविक विविधतालाई नयाँ उचाइमा पुर्याउन युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री परियारले नवप्रवर्तन, आधुनिक प्रविधि, डिजिटल समाधान र मूल्य शृङ्खला विकासमार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । ‘कृषि जैविक विविधता हाम्रो संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘यसको संरक्षण गर्ने जिम्मेवारी अब भावी पुस्ताको काँधमा छ ।’

मन्त्रालयले विकास साझेदार, गैरसरकारी संस्था तथा स्थानीय स्तरका संघसंस्थालाई अनुसन्धान र शिक्षाका क्षेत्रमा सहकार्य गर्न आह्वानसमेत गरेको छ । कार्यक्रमका अवसरमा उपहार खबरसँग कुराकानी गर्दै बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले रैथाने बाली र कृषि जैविक विविधता लोप हुँदै गएको अवस्थामा यसको संरक्षण र व्यावसायीकरणमा केन्द्रित भएर काम भइरहेको बताए । उनले प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि पहल भइरहेको जानकारी दिए ।

कार्यक्रममा विभिन्न रैथाने बालिको प्रदर्शनी, रैथाने बालीका परिकारहरु, विभिन्न बालीका प्रजाति, स्थानीय उत्पादन लगायतको प्रदर्शनी गर्ने उद्देश्यले स्टलहरु राखिएका थिए । देशभर कृषि जैविक विविधताको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम आयोजना गर्दै यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको हो ।






