महान्यायाधिवक्ताको कार्यालय इतिहासकै लागि कलङ्कित भयो: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित र लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार काठमाडौँमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य सञ्चालन थिति र विधिभन्दा बाहिर गएको आरोप लगाए ।
‘थिति र विधिको होइन, जसको लाठी त्यसको भैँसी जस्तो शासन चलेको छ,’ उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ । यो लज्जाको विषय हो । यस्तो पनि हुन्छ ?’

अध्यक्ष ओलीले आजको नेपाली राजनीतिमा दुई धारबीच संघर्ष चलिरहेको दाबी गरे । उनका अनुसार एक पक्ष नेपाल र नेपालीको सरकार बन्न नदिन सक्रिय छ भने अर्को पक्ष नेपालीकै सरकार हुनुपर्छ भन्नेमा अडिग छ । ‘उनीहरूको गन्तव्य नेपालमा नेपालीको सरकार हुनुहुँदैन भन्ने छ भने हाम्रो धारणा स्पष्ट छ नेपालीकै सरकार हुनुपर्छ, विदेशीको होइन,’ उनले भने ।

नेपालीकै सरकार हुनुपर्छ भन्नेहरूलाई लक्षित गरेर घर छानिछानी आगो लगाउने, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रहार गर्ने र राष्ट्रिय अर्थतन्त्रको विकास चाहने व्यापारीहरूलाई लखेट्ने काम भइरहेको ओलीको आरोप छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विदेशी योजनाअनुसार अभियुक्तहरूको अभियोग परिवर्तन गरिएको दाबी गर्दै यसबाट भएको आर्थिक हिनामिना कसले व्यहोर्ने भन्ने प्रश्न उठाए ।
‘दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’ उनले प्रश्न गरे । ‘हामी नेपालमा नेपालीको सरकार बनाउँछौँ, अरू बन्यो भने ढाल्छौँ ।’

कार्यक्रममा पिस्कर सहिद स्मृति दिवसका अवसरमा मेघनाथ पौडेललाई सम्मान गरिएको थियो । पिस्कर काण्डमा तत्कालीन पञ्चायती सरकारले परिवर्तनको पक्ष लिएको आरोप लगाउँदै वीरबहादुर थामी र इले थामीको हत्या गरिएको इतिहास पनि कार्यक्रममा स्मरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्