काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचनलाई केन्द्रमा राखेर चुनावी तयारी तीव्र बनाएको छ । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । उक्त समितिले आगामी निर्वाचनका लागि पार्टीको नीति, कार्यक्रम र प्राथमिकतासहितको घोषणा पत्र तयार गर्नेछ ।
त्यसैगरी बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ । चुनावी रणनीति, संगठन परिचालन र प्रचार–प्रसारको जिम्मेवारी उक्त समितिले सम्हाल्नेछ ।
प्रवक्ता चालिसेले पार्टीका अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्काल सुरु गरिने जानकारी दिए । संगठन सुदृढीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अभिलेख अद्यावधिक आवश्यक रहेको बैठकको निष्कर्ष रहेको उनको भनाइ छ ।
विशेष महाधिवेशनपछि कांग्रेसले संगठन र निर्वाचन तयारीलाई एकसाथ अघि बढाउने संकेतका रूपमा यी निर्णयहरूलाई हेरिएको छ ।





